समाचार

रास्वपा जिताउन कांग्रेसभित्र विवाद सिर्जना गरियो : पूर्णबहादुर खड्का

१८ चैत, काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले रास्वपालाई चुनाव जिताउन उद्देश्यसहित कांग्रेसभित्र विवाद सिर्जना गरिएको आरोप लगाएका छन्।

बुधबार आफूपक्षीय नेताहरूको बैठकमा बोल्दै खड्काले विशेष महाधिवेशन पक्षधरप्रति लक्षित गर्दै यस्तो टिप्पणी गरेका हुन्। उनले भने, “कांग्रेसलाई यो अवस्थामा नपुर्‍याइकन रास्वपा यहाँसम्म पुग्दैन थियो।”

खड्काले १४औँ महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति नै आधिकारिक कांग्रेस भएको दाबी गरे। अदालतबाट जस्तोसुकै फैसला आए पनि वैधानिक कांग्रेस आफूहरू नै रहेको उनको भनाइ थियो।

उनले पार्टीका सबै तह—इकाईदेखि प्रदेशसम्म—१४औँ महाधिवेशनबाट निर्वाचित संरचनाहरू सक्रिय रहेको उल्लेख गरे। अब पार्टीभित्रको विवाद अन्त्य गर्दै एकतामा अघि बढ्नुपर्ने उनको जोड छ।

“अब चुनावी कुरा भन्दा पनि कांग्रेसलाई एक बनाउने समय आएको छ,” उनले भने, “लोकतन्त्र र कांग्रेसका मूल्यमान्यताहरू जोगाउने जिम्मा फेरि हाम्रो काँधमा आएको छ।”

खड्काले युवापुस्तालाई लक्षित गर्दै बलियो र एकीकृत कांग्रेस निर्माणमा आफूले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता पनि व्यक्त गरे।