१९ चैत, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय सभाबाट पनि आफ्ना अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक को तत्काल रिहाइको माग गरेको छ।
राष्ट्रिय सभा बैठकमा बोल्दै एमाले सांसद प्रेमकुमार दंगाल ले नवगठित सरकारको पहिलो निर्णय नै प्रतिशोधपूर्ण भएको आरोप लगाए। उनले सरकारलाई बधाई दिँदै कामका आधारमा समर्थन वा विरोध गर्ने स्पष्ट पारे पनि हालका कदमहरू प्रति गम्भीर आपत्ति जनाए।
दंगालले ओली र लेखकलाई मध्यरातमा ‘आतङ्ककारीलाई जस्तो व्यवहार गर्दै’ गिरफ्तार गरिएको भन्दै सरकारको नियतमाथि प्रश्न उठाए। दुई पटक मृगौला प्रत्यारोपण गरिसकेका ओलीलाई अपमानजनक ढंगले पक्राउ गरिएको भन्दै उनले यसलाई अमानवीय र आपत्तिजनक कदमको रूपमा चित्रण गरे।
यसै क्रममा उनले भदौ २३–२४ का घटनापछि गठन गरिएको गौरीबहादुर कार्की आयोग को प्रतिवेदनलाई पूर्वाग्रहपूर्ण र तथ्यहीन भन्दै खारेज गर्न माग गरे। साथै, स्वतन्त्र र निष्पक्ष छानबिनका लागि सर्वोच्च अदालतका बहालवाला न्यायाधीशको नेतृत्वमा उच्चस्तरीय न्यायिक आयोग गठन गर्न सरकारसँग आग्रह गरे।
एमालेले ओली र लेखकको बिना शर्त रिहाइ, मन्त्रिपरिषद्को चैत १३ गतेको निर्णय फिर्ता, र आयोगका जिम्मेवार पदाधिकारीमाथि छानबिन तथा कारबाही गर्न समेत माग गरेको छ। साथै, देशभर एमाले कार्यकर्तामाथि भएको प्रहरी हस्तक्षेप र सुर्खेतस्थित पार्टी कार्यालयमा भएको आक्रमणको पनि कडा विरोध गरिएको छ।
एमालेको यस मागसँगै पछिल्लो राजनीतिक घटनाक्रम थप तातेको छ।




