समाचार

नेपाल एयरलाइन्सको विशेष उद्धार उडान : ३–५ अप्रिल दुबई र दमामसम्म

१९ चैत, काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले पश्चिम एसियामा रहेका नेपाली नागरिकको उद्धार र आवागमन सहज बनाउने उद्देश्यले ३ देखि ५ अप्रिलसम्म विशेष उडान सञ्चालन गर्ने भएको छ।

सरकारी निर्णयअनुसार, ३ अप्रिलमा काठमाडौं–दुबई, ४ अप्रिलमा दुबई–काठमाडौं, ५ अप्रिलमा काठमाडौं–दमाम र दमाम–काठमाडौं उडान सञ्चालन हुने जनाइएको छ। परराष्ट्रमन्त्री शिशिर खनको निर्देशनपछि निगमले यो विशेष उडानको व्यवस्था गरेको हो।

पश्चिम एसियामा विद्यमान तनावका कारण नियमित उडान २८ फेब्रुअरीदेखि स्थगित छन्। विशेष उडानका क्रममा यात्रुको सुरक्षाका लागि आवश्यक बीमा व्यवस्थामा राष्ट्रिय बीमा कम्पनीले सहयोग गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

परराष्ट्र मन्त्रालयका अनुसार, यस पहलले सुरक्षित र व्यवस्थित तरिकाले नेपाली नागरिकलाई स्वदेश फर्काउने र गन्तव्य मुलुकसम्म पुर्‍याउने काममा सहयोग पुर्‍याउनेछ। मन्त्रालयले उडान सञ्चालनमा योगदान दिने सबै सरोकारवालाहरूप्रति धन्यवाद समेत प्रकट गरेको छ।

यस विशेष उडानमार्फत नेपाल एयरलाइन्सले संकटपूर्ण परिस्थितिमा पनि नागरिकको सुरक्षालाई प्राथमिकता दिएको देखिएको छ।