१९ चैत, काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीको सुरक्षा, संवैधानिक अंग र कर्मचारीतन्त्रप्रति कुनै पनि वैरभाव नरहेको स्पष्ट पारेका छन्।
सामाजिक सञ्जालमार्फत उनले भने, “नेपाली सेना लगायतका सुरक्षा अंगहरू, न्यायालय र कर्मचारीतन्त्रप्रति हाम्रो पार्टीको सम्मान र विश्वास रहिरहने छ। संसद् वा सडक, सत्ता पक्ष वा प्रतिपक्षमा हाम्रो यो धारणा यथावत रहने छ।”
उनीहरूले जनताको बहुदलीय जनवाद नेकपा एमालेको मूल सिद्धान्त भएको र पराजयको समीक्षा गरी कमजोरी सच्याएर पुनः जनविश्वास आर्जन गर्ने बाटोमा जाने बताए।
यसअघि प्रतिनिधिसभा बैठकमा एमाले संसदीय दलका नेता रामबहादुर थापा बादलले जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म नेपाली सेनासँग सम्बन्धित अभिव्यक्ति दिएका थिए।
योगेश भट्टराईले थपे, “प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्ने र वैधानिक बाटोबाट समाजको प्रगतिशील रूपान्तरण गर्दै समाजवादको आधार तयार गर्नु हाम्रो पार्टीको जबज हो। जनताले दिएको जनमतको सम्मान गर्दै कमजोरी सच्याएर पुन: जनविश्वास आर्जन गर्ने हाम्रो बाटो हो।”
उनले एमालेलाई राज्य पक्षीय दल भए पनि संविधान निर्माणमा नेतृत्वदायी दल रहेको स्मरण गराउँदै पार्टीको भूमिकामा स्थिरता रहने बताएका छन्।




