२१ चैत, काठमाडौं । नेपाली कांग्रेस ले १५ औं महाधिवेशनको तयारीलाई औपचारिक रूपमा अघि बढाएको छ। पार्टीले देशभर खटिने केन्द्रीय प्रतिनिधिहरूसँग शनिबार सानेपास्थित केन्द्रीय कार्यालयमा अन्तरसंवाद कार्यक्रम आयोजना गरेको हो।
पार्टीका महामन्त्री प्रदीप पौडेल का अनुसार उक्त कार्यक्रममा प्रतिनिधिहरूको भूमिका, जिम्मेवारी र जिल्लामा गएर गर्नुपर्ने कामबारे विस्तृत जानकारी दिइएको थियो। प्रतिनिधिहरू वैशाख महिनाभर जिल्लामा बसेर सदस्यता वितरण, पुराना सदस्यता अद्यावधिक र नयाँ सदस्यता व्यवस्थापनमा सक्रिय रहनेछन्।
कांग्रेसले १ वैशाखदेखि मसान्तसम्म देशभरका वडाबाट क्रियाशील सदस्यता वितरण तथा अद्यावधिक गर्ने कार्यतालिका बनाएको छ। त्यसपछि वडाबाट १५ जेठभित्र सदस्यता सम्बन्धित विवरण क्षेत्र र जिल्लामा पठाइसक्नुपर्नेछ भने २५ जेठसम्म केन्द्रमा इन्ट्री गरिसक्ने योजना छ।
पार्टीले १५ असारभित्र सदस्यताको अन्तिम टुंगो लगाउने र असार मसान्तसम्म अद्यावधिक नामावली केन्द्रीय निर्वाचन समितिलाई बुझाइसक्ने लक्ष्य राखेको छ।
यसअघि केन्द्रीय कार्यसमिति बैठकले आगामी असोज १६ देखि १९ गतेसम्म १५ औं महाधिवेशन सम्पन्न गर्ने निर्णय गरिसकेको छ। सोहीअनुसार पार्टीले देशभर संगठन सुदृढीकरण र सदस्यता व्यवस्थापन अभियानलाई तीव्र बनाएको जनाएको छ।





