२५ चैत, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले इरान-अमेरिका युद्ध अन्त्य घोषणालाई लिएर आफनो भनाई राखेका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाट् राख्दै पोखरेलले सुन्दा नै आङ सिरिङ्ड हुने एउटा युद्ध उन्मादमा अस्थायी विराम लागेकोमा खुसि व्यक्त गरेका छन् ।
सूचना र प्रविधिको उन्नत युगमा पनि कुनै सभ्यतालाई ढुंगे युगमा फर्काउने धम्की दिइनु मानव सभ्यतामाथिको नाङ्गो व्यंग्य रहेको भन्दै उनले अगाडी भने यस्तो अवस्थामा कतिपय शासकहरूको मौनता लाजमर्दो देखिन्छ भने मानवता नै निरिह बनेको अनुभूति पीडाजनक स्थिति बन्यो।
पोखरेलले यस्तो कठिन घडीमा आफ्नो देशको पक्षमा निर्भयतापूर्वक उभिएका इरानी जनतालाई देख्दा मानवता अझै जीवित छ भन्ने विश्वास जागेको समेत उल्लेख गरेका छन् ।
साथै आफ्नै शासकको कमजोरी र गलत नीतिविरुद्ध आवाज उठाउने अमेरिकी जनताले पनि भविष्यप्रतिको आशा जगाएको बताउँदै उनले इरानी जनताको देश भक्तिवाट नेपाली जनले पनि पाठ सिक्नुपर्नेमा जोड दिए।
अस्थायी युद्धविरामका लागि मध्यस्थताको भूमिकामा देखिएको पाकिस्तानी नेतृत्वप्रति सम्मान व्यक्त गर्दै पोखरेल अब यो अस्थायी युद्धविराम स्थायी शान्तिमा रूपान्तरण होस् भन्ने कामना गरेका छन् ।
महासचिव पोखरेलले अगाडी लेखेका छन् ”युद्धका माध्यमवाट प्रभुत्व क़ायम गर्न हिडेकाहरुलाई पनि विश्व अर्थतन्त्रलाई नै हल्लाइदिएको यस कठिन युद्धले पछि फर्कने बहाना खोज्न विवस बनाएकै हुनु पर्छ” ।
सबैले सामाजिक सञ्जालमार्फत शान्ति, संवाद र सहअस्तित्वको पक्षमा सशक्त आवाज उठाउनु पर्नेमा जोड दिँदै उनले हिंसा मानवताको शत्रु र शान्ति नै सबैको साझा भविष्य भएको बताएका छन् ।





