२५ चैत, काठमाडौं । नेपालको सेयर बजारले बुधबार उल्लेखनीय वृद्धि गर्दै नेप्से परिसूचक २८ सय अंक पार गरेको छ। अघिल्लो दिन सामान्य गिरावट आएको बजार आज ४५.१२ अंकले उकालो लाग्दै २८०२ अंकमा बन्द भएको हो, जुन दिनभरकै उच्च बिन्दु समेत हो।
कारोबार रकम पनि उल्लेखनीय रूपमा बढेको छ। अघिल्लो दिन ६ अर्ब ७३ करोड रुपैयाँको कारोबार भएकोमा आज बढेर ८ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ। बजारमा सकारात्मक माहोल देखिँदा २५१ कम्पनीको सेयर मूल्य बढेको छ भने १५ कम्पनीको घटेको र २ कम्पनी स्थिर रहेका छन्।
समूहगत रूपमा हेर्दा सबै उपसूचक हरियाली देखिएका छन्। उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै ३.८७ प्रतिशतले बढेको छ। त्यसैगरी बैंकिङ १.१५, विकास बैंक १.९८, फाइनान्स १.४५, होटल तथा पर्यटन २.५६, जलविद्युत् २.६१, लगानी १.३५, जीवन बीमा १.३१, माइक्रोफाइनान्स १.२८, निर्जीवन बीमा १.०१, अन्य ०.१५ तथा व्यापार समूह ०.६१ प्रतिशतले वृद्धि भएका छन्।
आज ६ वटा कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको वृद्धि भएको छ। तीमध्ये रिलायन्स स्पिनिङ मिल्स, श्रीनगर एग्रिटेक, सोलु हाइड्रोपावर लगायतका कम्पनीहरू अग्रस्थानमा रहे।
अन्यतर्फ सान्भी इनर्जी को मूल्य ९.२२ प्रतिशत र बन्दीपुर केबुलकार को ८.१८ प्रतिशतले बढेको छ। केही कम्पनीहरूमा भने गिरावट देखिएको छ, जसमा स्वेत गंगा हाइड्रोपावर, माइखोला हाइड्रोपावर र थ्रीस्टार हाइड्रोपावर प्रमुख छन्।
कारोबारका आधारमा एसवाई प्यानल, रिलायन्स स्पिनिङ मिल्स, शिवम् सिमेन्ट, एनआरएन इन्फ्रास्ट्रक्चर र नेसनल हाइड्रोपावर शीर्ष स्थानमा रहे।
लगानीकर्ताहरूको सक्रियता बढेसँगै बजारमा सकारात्मक संकेत देखिएको विश्लेषकहरूले बताएका छन्।





