समाचार

बागमतीमा सवारी भाडा वृद्धि प्रस्ताव, काठमाडौंमा न्यूनतम भाडा २३.९३ रुपैयाँ हुने

२७ चैत, काठमाडौं । बागमती प्रदेशभित्र सार्वजनिक सवारीसाधनको भाडा वृद्धि गर्ने तयारी गरिएको छ। प्रदेश सरकारअन्तर्गत भाडा निर्धारण तथा समायोजन सिफारिस समितिको बैठकले काठमाडौं उपत्यकामा न्यूनतम भाडा २५.९६ प्रतिशतले बढाउने सिफारिस गरेको हो।

हाल उपत्यकामा ०–५ किलोमिटरसम्मको न्यूनतम भाडा १९ रुपैयाँ रहेकोमा वृद्धि भएपछि २३.९३ रुपैयाँ पुग्ने प्रस्ताव गरिएको छ। प्रदेश श्रम, रोजगार तथा यातायातमन्त्री जयराम थापाको उपस्थितिमा बसेको बैठकले इन्धन मूल्य वृद्धि र सञ्चालन खर्च बढेको आधारमा नयाँ दर सिफारिस गरेको जनाएको छ।

प्रदेश यातायात मन्त्रालयका अनुसार पेट्रोलियम पदार्थबाट सञ्चालन हुने ट्याक्सी भाडा १२.३९ प्रतिशतले वृद्धि हुने प्रस्ताव गरिएको छ। त्यस्तै, उपत्यका बाहिर सञ्चालन हुने यात्रुवाहक सवारीमा १७.३५ प्रतिशत र मालवाहक सवारीमा २६.७९ प्रतिशत भाडा बढाउने सिफारिस गरिएको छ।

मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसमक्ष भाडादर स्वीकृतिका लागि प्रस्ताव पेश गर्ने तयारी भइरहेको छ। स्वीकृत भएपछि नयाँ भाडादर प्रदेश राजपत्रमा प्रकाशन गरी कार्यान्वयनमा ल्याइनेछ।

तर, बागमती प्रदेशभित्र सञ्चालन हुने विद्युतीय सवारीसाधनको भाडादर भने यथावत् रहनेछ। यी सवारीका लागि १ वैशाख २०७९ मा तोकिएको दरमै कायम रहने मन्त्रालयले जनाएको छ।

इन्धन मूल्यमा निरन्तर वृद्धि भएपछि यातायात व्यवसायीले भाडा समायोजनका लागि सरकारमाथि दबाब बढाउँदै आएका थिए। सोही क्रममा केन्द्र सरकारले समेत हालै लामो दूरीका सार्वजनिक सवारीको भाडा वृद्धि गरिसकेको छ।

सरकारको यो निर्णय कार्यान्वयनमा आएपछि यात्रुहरूमा खर्चको थप भार पर्ने भए पनि यातायात व्यवसायीहरूले भने यसलाई आवश्यक समायोजनका रूपमा लिएका छन्।