१ बैशाख, काठमाडौं । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले आगामी वर्षलाई सुशासन कायम र भ्रष्टाचार निवारणको आधार वर्ष बनाउन आह्वान गरेका छन् ।
नयाँवर्ष २०८३ को शुभ उपलक्ष्यमा शुभकामना सन्देश जारी गर्दै उनले मुलुकको राजनीतिक उपलब्धि र वर्तमान चुनौतीहरूबारे गम्भीर चर्चा गरेका छन् ।
२०७२ सालमा जनप्रतिनिधिमार्फत् संविधान जारी हुनु महत्वपूर्ण उपलब्धि भए तापनि भ्रष्टाचार निवारण र सुशासनका विषयहरू केवल प्रतिबद्धतामा मात्र सीमित रहनु र व्यवहारमा सार्थक नहुनु दुःखद पक्ष रहेको उनले उल्लेख गरेका छन् ।
पछिल्लो समय विकसित भएको जेनजी आन्दोलनले मुलुकको परिवेश र परिस्थितिमा परिवर्तन ल्याएको उल्लेख गर्दै रेग्मीले आन्दोलनले भ्रष्टाचार निवारण र सुशासनलाई नै मुख्य दिशा निर्देश गरेको स्मरण गरेका छन्। आन्दोलनकारीको बलिदानपूर्ण अमूल्य रगतको मर्म र भावना अनुरूप अघि बढ्नु अब प्रत्येक नेपालीको कर्तव्य र दायित्व भएको उनको सन्देशमा उल्लेख छ।
प्रतिनिधिसभामा युवा पुस्ताको बाहुल्यता हुनु र सोही अनुरूप सरकार गठन हुनुलाई उनले सकारात्मक रूपमा चित्रण गरेका छन् ।
वर्तमान सरकारले विगतको भन्दा भिन्न कार्यशैलीका साथ द्रुत गतिमा काम अघि बढाउने प्रयास गरेको र यो सकारात्मक दिशातिर उन्मुख रहेको उनको ठम्याइ छ।
आगामी नयाँ वर्ष नेपालीको उन्नति र प्रगतिको विशेष वर्षका रूपमा स्थापित हुने अपेक्षा राख्दै पूर्वअध्यक्ष रेग्मीले नयाँ वर्षले सबैमा नयाँ उत्साह र उमङ्ग ल्याउने विश्वास व्यक्त गरेका छन् ।





