अन्तर्राष्ट्रिय

११ वर्ष ५१ दिनपछि बिहारका मुख्यमन्त्री पदबाट नितिश कुमारको राजीनामा

१ वैशाख, काठमाडौं । नितिश कुमारले बिहार राज्यका मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन्। उनले राज्यपालसमक्ष राजीनामा बुझाएको जानकारी सामाजिक सञ्जाल एक्समार्फत सार्वजनिक गरेका हुन्।

राजीनामाको घोषणा गर्दै उनले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेका छन्। साथै, आगामी सरकारलाई पूर्ण सहयोग र आवश्यक मार्गनिर्देशन दिने प्रतिबद्धता पनि जनाएका छन्।

आफ्नो लामो राजनीतिक यात्रालाई स्मरण गर्दै उनले सन् २००५ नोभेम्बर २४ मा पहिलो पटक एनडीए सरकार गठन भएको उल्लेख गरेका छन्। त्यसयता राज्यमा कानुनको शासन स्थापित गर्दै निरन्तर विकासका काम अघि बढाइएको उनको भनाइ छ।

उनले आफ्नो कार्यकालमा शिक्षा, स्वास्थ्य, विद्युत्, कृषि लगायतका क्षेत्रमा उल्लेखनीय प्रगति भएको दाबी गरेका छन्। साथै महिला, युवा तथा समाजका विभिन्न वर्गको उत्थानका लागि महत्वपूर्ण पहल गरिएको उनले बताएका छन्।

नरेन्द्र मोदी नेतृत्वको भारतीय जनता पार्टीको समर्थनमा उनी पछिल्लो समय बिहारका मुख्यमन्त्रीका रूपमा कार्यरत थिए।

यसअघि उनी यही मार्चमा बिहारबाट राज्यसभा सदस्यमा निर्वाचित भइसकेका छन् र सांसद पदको शपथ पनि लिइसकेका छन्।

अब बिहारमा पहिलो पटक भारतीय जनता पार्टीकै नेतृत्वमा सरकार बन्ने तयारी भइरहेको छ। नयाँ मुख्यमन्त्रीका रूपमा सम्राट चौधरीलाई अगाडि सारिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

नितिश कुमार पहिलो पटक सन् २००० मा सात दिनका लागि बिहारको मुख्यमन्त्री बनेका थिए। त्यसपछि सन् २००५ देखि २०१४ सम्म ८ वर्ष १७७ दिन पदमा रहे। बीचमा जितनराम माझीले २०१४–२०१५ मा २७८ दिन मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका थिए।

त्यसपछि पुनः सत्तामा फर्किएका नितिश कुमार लगातार ११ वर्ष ५१ दिनसम्म मुख्यमन्त्री रहँदै आज पदबाट बिदा भएका हुन्।