२ बैशाख, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता आगामी दुई दिनभित्र पुनः शुरू हुन सक्ने बताएका छन्। यस वार्ताका लागि पाकिस्तान सबैभन्दा सम्भावित गन्तव्य भएको उनले उल्लेख गरे।
न्यूयोर्क पोस्टुलाई दिएको अन्तर्वार्तामा ट्रम्पले परिस्थिति द्रुत गतिमा विकसित भइरहेकाले वार्ता चाँडै शुरू हुने विश्वास व्यक्त गरेका छन्। उनले भनेका छन्, आगामी दुई दिनमा केही हुन सक्छ र हामी त्यहाँ (पाकिस्तान) जान इच्छुक छौँ।
ट्रम्पले पाकिस्तानका सेना प्रमुख असिम मुनीरको कार्यसम्पादनको प्रशंसा गर्दै त्यहाँ वार्ताको सम्भावना बढेको बताए।
यसअघि, अप्रिल ११ मा इरान र अमेरिकाबीच पाकिस्तानको इस्लामाबादमा २१ घण्टा लामो युद्धविराम वार्ता भएको थियो। यद्यपि, उक्त वार्ता कुनै निष्कर्षमा पुग्न सकेन। सो वार्तामा अमेरिकी उपराष्ट्रपति जे.डी. भान्स र इरानी संसदका सभामुख मोहम्मद बाकर कालिबाफ लगायतको सहभागिता थियो।
मंगलबार इरानको सरकारी सञ्चारमाध्यमले इरान र पाकिस्तानबीच सन्देश आदानप्रदान भएको जनाए पनि अमेरिकासँगको थप वार्ताबारे कुनै जानकारी दिएको थिएन। इस्लामाबाद वार्तापछि अमेरिकाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी गरेको छ। हाल दुवै पक्षबीच आणविक मुद्दा, हर्मुज जलमार्ग र आर्थिक प्रतिबन्धका विषयमा तीव्र मतभेद कायम छ।
ट्रम्पले दोस्रो चरणको वार्तामा आफू व्यक्तिगत रूपमा सहभागी नहुने स्पष्ट पारेका छन्। सीएनएनका अनुसार उपराष्ट्रपति भान्सले नै इरानी अधिकारीहरूसँगको सम्भावित दोस्रो चरणको वार्ताको नेतृत्व गर्ने अपेक्षा गरिएको छ।
यस कूटनीतिक पहलमा ट्रम्पका विशेष दूत स्टिभ विटकफ र उनका ज्वाइँ जेरेड कुश्नरले पनि सक्रिय भूमिका खेलिरहेका छन्, जसले युद्ध शुरू हुनुअघिदेखि नै वार्ताको नेतृत्व गर्दै आएका थिए।





