३ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका पूर्व महामन्त्री डा.शशांक कोइरालाले पार्टीभित्र पछिल्लो समय देखिएका मतभेदहरूप्रति गम्भीर चिन्ता व्यक्त गर्दै पार्टीलाई एकताबद्ध हुन आह्वान गरेका छन्।
एक विज्ञप्ति जारी गर्दै कोइरालाले लोकतन्त्र र राष्ट्रियताका लागि नेपाली कांग्रेसको ऐतिहासिक महत्वलाई स्मरण गराउँदै पार्टी हाल इतिहासकै कमजोर अवस्थामा रहेको बताएका छन्।
कोइरालाले वर्तमान आन्तरिक विवादले पार्टीलाई मात्र नभई सिंगो मुलुकको लोकतन्त्र र व्यवस्थामाथि नै नकारात्मक असर पार्न सक्ने जोखिम औंल्याएका छन्।
उनले यस्तो प्रतिकूल अवस्थामा तल्लो तहदेखि शीर्ष तहसम्मै एकता अपरिहार्य रहेकोमा जोड दिएका छन्।विज्ञप्तिमा भनिएको छ, “कुनैपनि जीवन्त पार्टीभित्र सैद्धान्तिक मतभिन्नता हुनु स्वभाविक मानिन्छ।
पटकपटक भएका आन्दोलन र विद्रोहपछि समयानुकुल रुपमा पार्टीका गतिविधी रुपान्तरित हुनुपर्छ भन्नेमा कुनै दुईमत छैन।” यद्यपि, पार्टीको ुमूल घरु नै तहसनहसको अवस्थामा पुग्दासमेत परिवारका सदस्यहरूबीच वैमनस्यता कायम राखेर रूपान्तरणको कुनै अर्थ नहुने उनको भनाइ छ। उनले पछिल्लो समय कांग्रेसमा रूपान्तरणको आवश्यकता भए पनि त्यसैका नाममा भएका गतिविधिले पार्टीलाई झन् संकटमा धकेलेकोमा सबै जानकार रहेको उल्लेख गरेका छन्।
कांग्रेसको आधिकारिकता विवाद अदालतमा विचाराधीन रहेको सन्दर्भमा पूर्णबहादुर खड्कालाई सोधिएको स्पष्टीकरणले पार्टीभित्रको बृहत् एकताका लागि बाधक बन्ने देखिएकोमा कोइरालाले चिन्ता व्यक्त गरेका छन्।
अदालतमा मुद्दा विचाराधीन रहेका बेला यस्ता आन्तरिक गतिविधिले पार्टी जीवनलाई थप संकटतर्फ धकेल्ने निश्चितप्रायः रहेको उनको ठहर छ।
उनले यस बेला पार्टीमा बृहत् एकता कायम गर्न र गराउन अत्यावश्यक भएकोमा जोड दिएका छन्।
१५ औं महाधिवेशनका लागि क्रियाशील सदस्यताको नवीकरण भइसकेको अवस्थामा अहिले सदस्यता अद्यावधिक गर्नुको अर्थ नभएको कोइरालाको भनाइ छ।
क्रियाशील सदस्यतामा अद्यावधिकको नाममा हुने फेरबदलले पार्टीभित्रको आन्तरिक लोकतन्त्र, निष्पक्षता र पारदर्शिता प्रभावित हुने उनको तर्क छ।
डा। कोइरालाले नेपाली कांग्रेस सैद्धान्तिक र वस्तुगत रूपमा विभाजित नभएकोमा आफू विश्वस्त रहेको बताउँदै आम कांग्रेसजनलाई यो अनुभूत गराउँदै पार्टीको बृहत् एकताका पक्षमा उभिन सबैलाई अपील गरेका छन्।




