५ वैशाख, काठमाडौं । मध्यपूर्वको संवेदनशील समुद्री मार्ग होर्मुज जलडमरूमध्यमा पुनः तनाव चुलिएको छ। शनिबार दुई भारतीय झण्डावाहक जहाजमाथि गोलीबारी भएको घटनापछि उक्त क्षेत्रमा सुरक्षा चिन्ता बढेको छ।
बीबीसी हिन्दीका अनुसार, समुद्री यातायात निगरानी गर्ने वेबसाइट ‘ट्यांकरट्र्याकर्स’लाई उद्धृत गर्दै भारतीय कार्गो जहाज शीप जग अर्नव र तेल ट्यांकर सनमार हेराल्ड माथि आक्रमण भएको उल्लेख गरिएको छ। घटनापछि दुवै जहाजलाई आफ्नो मार्ग परिवर्तन गर्न बाध्य पारिएको थियो।
समाचारअनुसार, इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी)ले ती जहाजमाथि गोली चलाउँदै मार्गबाट हट्न निर्देशन दिएको थियो। त्यसपछि दुवै जहाज युटर्न लिएर फर्किएका थिए। सनमार हेराल्ड इराकबाट तेल बोकेर गइरहेको जनाइएको छ।
उक्त घटनासँगै बेलायतको मेरिटाइम ट्रेड अपरेसन्सले पनि सोही क्षेत्रमा एक ट्यांकरमाथि गोलीबारी भएको पुष्टि गरेको छ। संस्थाका अनुसार ओमानबाट करिब २० नटिकल माइल उत्तरपूर्वमा उक्त घटना भएको हो।
यसअघि शुक्रबार मात्रै इरानका विदेशमन्त्री अब्बास अरागचीले होर्मुज जलडमरूमध्य पूर्ण रूपमा खुला रहेको घोषणा गरेका थिए। तर, शनिबार इरानी सञ्चारमाध्यमहरूले भने उक्त क्षेत्र पुनः नियन्त्रणमा लिइएको र आवागमन प्रभावित भएको दाबी गरेका छन्।
यसैबीच, अमेरिका र इरानबीच भएको युद्धविराम सम्झौताको अवधि सकिन अब चार दिन मात्रै बाँकी रहेको छ। तर, आगामी शान्तिवार्ताबारे कुनै स्पष्ट सहमति हुन सकेको छैन। पाकिस्तानको इस्लामावादमा भएको पछिल्लो वार्ता पनि निष्कर्षविहीन बनेको थियो।
उता, अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अप्रिल २२ भित्र ठोस सम्झौता नगरे पुनः सैन्य कारबाही सुरु गर्ने चेतावनी दिएका छन्।
पछिल्ला घटनाक्रमहरूले होर्मुज जलडमरूमध्यमा अस्थिरता थप बढाउने संकेत दिएका छन्, जसको प्रभाव अन्तर्राष्ट्रिय तेल आपूर्ति र क्षेत्रीय सुरक्षामा पर्न सक्ने देखिएको छ।





