राजनीति

२६ दिनमै गृहमन्त्रीको राजीनामा: अब गृहमन्त्रालय प्रधानमन्त्री बालेनकै हातमा

९ वैशाख, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएपछि गृहमन्त्रालयको जिम्मेवारी तत्कालका लागि प्रधानमन्त्री बालेन शाहले स्वयं सम्हाल्ने भएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार नयाँ गृहमन्त्री नियुक्त नभएसम्म उक्त मन्त्रालय प्रधानमन्त्रीकै मातहत रहनेछ।

विवादित व्यापारी दीपक भट्टसँगको साझेदारी सम्बन्धी तथ्य सार्वजनिक भएपछि गृहमन्त्री गुरुङ विवादमा तानिएका थिए। आफूविरुद्ध निष्पक्ष छानबिन होस् भन्ने उद्देश्यले उनले पदबाट राजीनामा दिएको बताएका छन्।

सरकार गठन भएको २६ दिनमै गुरुङको राजीनामा आएको हो। पछिल्लो समय उनको सम्पत्ति विवरणमाथि प्रश्न उठ्दै आएको थियो। उनले सार्वजनिक गरेको विवरण अस्वाभाविक रहेको भन्दै आलोचना भइरहेको अवस्थामा माइक्रो इन्स्योरेन्स लगायतका क्षेत्रमा गरिएको थप लगानीसम्बन्धी विवरण पनि बाहिरिएको थियो।

त्यसैगरी, उनले सञ्चालन गरेको ‘हामी नेपाल’ नामक सामाजिक संस्थामा आएको सहयोग रकम व्यक्तिगत खातामार्फत् कारोबार गरिएको आरोपसमेत लागेपछि चौतर्फी दबाब बढेको थियो। यही दबाबका बीच उनले बुधबार पद त्याग गरेका हुन्।

अब गृहमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीले आफैं सम्हाल्ने निर्णयलाई राजनीतिक रूपमा अर्थपूर्ण रूपमा हेरिएको छ।