समाचार

सेयर चलखेल काण्ड: उद्योगी शेखर गोल्छा यसरी परे पक्राउ

१० वैशाख, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छा लाई प्रहरीले पक्राउ गरेको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नेपाल धितोपत्र बोर्डको छानबिन प्रतिवेदनका आधारमा अनुसन्धानका लागि गोल्छालाई नियन्त्रणमा लिएको जनाएको छ। सीआईबी प्रमुख एआईजी डा. मनोज केसी का अनुसार धितोपत्रसम्बन्धी ऐन, २०६३ अन्तर्गतका विभिन्न दफाअनुसार कसूरमा अनुसन्धान अघि बढाइएको हो।

नेपाल धितोपत्र बोर्ड को प्रारम्भिक प्रतिवेदनमा विभिन्न बीमा कम्पनीहरूको फन्ड प्रयोग गरी सेयर बजारमा चलखेल गरिएको उल्लेख छ। प्रतिवेदनअनुसार विवादित व्यवसायी दिपक भट्ट ले व्यक्ति तथा निजी कम्पनीहरूबाट सस्तोमा सेयर किनेर मूल्य बढाएपछि बीमा कम्पनीहरूलाई बिक्री गर्ने गरेको देखिएको छ।

अनुसन्धानले यस्तो कार्यमा भट्ट र भृकुटी स्टक ब्रोकिङ कम्पनीका प्रमुख कार्यकारी अधिकृत संदिप चाचान मुख्य पात्र रहेको औंल्याएको छ। उनीहरूले धितोपत्र बजारलाई प्रभावित पार्ने तथा जालसाजीयुक्त कारोबार गरेको निष्कर्ष निकालिएको छ। भट्ट यसअघि नै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको हिरासतमा छन् भने चाचान फरार रहेका छन्।

यस प्रकरणमा हिमालयन रिइन्स्योरेन्स, हिमालयन क्यापिटल, नेपाल माइक्रो इन्स्योरेन्सलगायत कम्पनीहरू तथा रोहित गुप्ता र गोल्छासहित अन्य व्यक्तिहरूको पनि संलग्नता रहेको उल्लेख गरिएको छ। साथै शुभी अग्रवाल, ऋषिराज मोर र राजबहादुर शाहसमेत नेपाल रिइन्स्योरेन्स कम्पनीको सेयर मूल्य बढाउने कार्यमा जोडिएको प्रतिवेदनमा उल्लेख छ।

धितोपत्र बोर्डले यी सबै व्यक्ति तथा संस्थामाथि अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयमा सिफारिस गरेको थियो, जसका आधारमा हाल धमाधम पक्राउ र अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।