११ वैशाख, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले देशभरका वास्तविक सुकुमवासीहरूको समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनीहरूलाई ढुक्क रहन आग्रह गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले प्रक्रिया पूरा गरी यथाशक्य चाँडो जग्गा वितरण गरिने स्पष्ट पारेका हुन्।
उनका अनुसार वर्षौंदेखि जटिल बनेको सुकुमवासी समस्या अब स्थायी रूपमा समाधान गर्ने लक्ष्य सरकारको रहेको छ। “देशभरका वास्तविक सुकुमवासीका लागि प्रक्रिया पुर्याएर चाँडै जग्गा वितरण गर्छौं, ढुक्क हुनुहोस्,” उनले उल्लेख गरेका छन्।
प्रधानमन्त्री शाहले वर्षायाममा हुनसक्ने सम्भावित दुर्घटनालाई ध्यानमा राख्दै सरकारले अगाडि नै कदम चालेको बताए। हरेक वर्ष बाढी र डुबानको जोखिममा परिरहेका सुकुमवासीलाई सुरक्षित स्थानमा व्यवस्थापन गर्नु आवश्यक रहेको उनको भनाइ छ।
“दुर्घटना आउन कुर्ने कि पहिले नै समाधान खोज्ने?” भन्ने प्रश्न उठाउँदै उनले जोखिमपूर्ण स्थानमा बसोबास गरिरहेका नागरिकलाई सुरक्षित ठाउँमा सार्नु उनीहरूको अधिकार भएको बताएका छन्।
हाल सरकारले काठमाडौंका विभिन्न सुकुमवासी बस्ती खाली गराउने तयारी अघि बढाएको छ। यस निर्णयप्रति विभिन्न कोणबाट प्रश्न उठिरहेका छन् भने सुकुमवासीहरू प्रदर्शनमा उत्रिएका छन्, जसले विषयलाई थप संवेदनशील बनाएको छ।





