११ वैशाख, काठमाडौं । नेपाली सेना ले सेना र नेतृत्वलाई जोडेर सामाजिक सञ्जाल तथा विभिन्न सञ्चार माध्यममा फैलाइएका तथ्यहीन तथा भ्रामक सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डा, काठमाडौंले जारी गरेको प्रेस नोटमा यस्ता कपोकल्पित सामग्रीले आम नागरिकमा भ्रम सिर्जना गर्ने भन्दै त्यस्ता सूचना प्रसारण नगर्न/नगराउन अनुरोध गरिएको छ।
सेनाले भ्रामक तथा द्वेषपूर्ण सामग्री उत्पादन र प्रसार गर्ने गतिविधिहरूको नियमित निगरानी भइरहेको र यस्ता कार्य गर्ने व्यक्तिहरू प्रचलित कानुनको दायरामा ल्याइने चेतावनी दिएको छ।
साथै, सेनाले आम नागरिकलाई आधारहीन समाचार तथा टिप्पणीहरूमा विश्वास नगर्न आग्रह गरेको छ। आधिकारिक सूचनाका लागि केवल नेपाली सेना जनसम्पर्क तथा सूचना निर्देशनालय, आधिकारिक वेबसाइट तथा सामाजिक सञ्जालमार्फत प्रकाशित सूचनामा मात्र भर पर्न अनुरोध गरिएको छ।






