१२ वैशाख, काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका नदी किनार तथा सार्वजनिक जग्गामा बसोबास गर्दै आएका सुकुमवासीहरूको व्यवस्थापन प्रक्रिया औपचारिक रूपमा सुरु गरेको छ। शनिबारदेखि बस्ती खाली गराउने अभियान सुरु गरिएको र पहिलो दिनको कार्य शान्तिपूर्ण रूपमा सम्पन्न भएको जनाइएको छ।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)का राजनीतिक सल्लाहकार असिम शाहका अनुसार काठमाडौं उपत्यका विकास प्राधिकरणको तथ्यांकअनुसार शान्तिनगर, गैरीगाउँ, थापाथली, गोठाटार र मनोहरा टोलमा गरी कुल ८७१ अनधिकृत घरधुरी रहेका छन्। तीमध्ये थापाथली क्षेत्रमा बस्ती खाली गराउने कार्य स्थानीयको सहयोगमा शान्तिपूर्ण र सौहार्दपूर्ण रूपमा सम्पन्न भएको उनले बताएका छन्।
हालसम्म थापाथलीका ६८ परिवार सरकारको सम्पर्कमा आइसकेका छन् भने अन्य क्षेत्रका परिवारहरू पनि सम्पर्कमा आउने क्रम जारी रहेको छ। सम्पर्कमा आएका परिवारलाई दशरथ रंगशालामा ल्याई उनीहरूको विवरण संकलन गरिँदैछ र अस्थायी रूपमा काठमाडौंका विभिन्न होटलहरूमा राख्ने तयारी भइरहेको छ।
सरकारले ती परिवारहरू वास्तविक सुकुमवासी हुन् वा होइनन् भन्ने पहिचान प्रक्रिया भोलिबाट सुरु गर्ने जनाएको छ। पहिचानमा वास्तविक सुकुमवासी ठहरिएका परिवारलाई दुई साताभित्र नागार्जुन नगरपालिका–१ स्थित सरकारी अपार्टमेन्टमा स्थानान्तरण गरिने योजना रहेको छ।
सरकारले यसपछि दीर्घकालीन व्यवस्थापनको कार्य अघि बढाउने तयारी गरेको पनि जनाइएको छ।





