१४ वैशाख, काठमाडौं । अर्थ मन्त्रालय ले सार्वजनिक गरेको ‘नेपालको वर्तमान आर्थिक स्थितिपत्र’ले देशभित्र रोजगारीका अवसर सीमित हुँदा वैदेशिक रोजगारीमाथिको निर्भरता तीव्र रूपमा बढिरहेको देखाएको छ।
प्रतिवेदन अनुसार नेपालमा बेरोजगारी दर १२.६ प्रतिशत पुगेको छ। चौथो नेपाल जीवनस्तर सर्वेक्षणका आधारमा विगत एक दशकमा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने नेपालीको संख्या वार्षिक औसत २८.६ प्रतिशतले वृद्धि भएको उल्लेख गरिएको छ।
आर्थिक वर्ष २०८१/८२ मा मात्रै ८ लाख ३९ हजार नेपालीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन्। तीमध्ये ५ लाख ६ हजारले नयाँ श्रम स्वीकृति लिएका छन् भने ३ लाख ३३ हजारले पुनः श्रम स्वीकृति लिएका छन्। चालु आर्थिक वर्षको १२ चैतसम्म पनि ५ लाख ५७ हजार नेपाली विदेशिएको तथ्यांकले यो प्रवृत्ति अझै कायम रहेको देखाउँछ।
विदेशिएका श्रमिकले पठाउने विप्रेषणले बाह्य क्षेत्र सन्तुलन, गरिबी न्यूनीकरण र आन्तरिक मागमा अल्पकालीन राहत दिएको भए पनि यसको दीर्घकालीन प्रभाव चिन्ताजनक रहेको मन्त्रालयले जनाएको छ। प्रतिवेदनमा दक्ष तथा अर्धदक्ष जनशक्ति अभाव, समष्टिगत मागमा कमी तथा मानव पूँजी ह्रास हुने जोखिम बढ्दै गएको उल्लेख गरिएको छ।
सेवा क्षेत्र विस्तार भए पनि मर्यादित रोजगारी सिर्जना हुन नसकेको स्थितिपत्रले देखाएको छ। हाल सेवा क्षेत्र व्यापार, आवास, सार्वजनिक प्रशासन र परम्परागत वित्तीय सेवामै केन्द्रित रहेको छ भने उच्च मूल्य अभिवृद्धि गर्ने सूचना प्रविधि, ज्ञानमा आधारित सेवा र नवप्रवर्तनात्मक क्षेत्रको विकास कमजोर देखिएको छ।
मन्त्रालयले कृत्रिम बौद्धिकता, रोबोटिक्स, डाटा सेन्टर तथा डिजिटल प्रविधिमा आधारित सेवा क्षेत्र विस्तार गर्दै सिपयुक्त रोजगारी सिर्जना गर्नुपर्ने आवश्यकता औंल्याएको छ। साथै स्वदेशमै पर्याप्त रोजगारी अवसर सिर्जना गरी बाध्यात्मक वैदेशिक रोजगारी अन्त्य गर्न सरकारलाई सुझाइएको छ।





