१६ वैशाख, काठमाडौं । वैदेशिक रोजगारीका लागि आकर्षक तलब र सुविधा देखाएर श्रीलंका पुर्याइएका पाँच नेपाली कामदार चार महिनादेखि बिचल्लीमा परेका छन्। रौतहटका ती कामदार हाल श्रीलंकाको नर्थवेस्टर्न प्रान्तस्थित कुलियापिटियाको वारीगोडा क्षेत्रमा अलपत्र अवस्थामा रहेको बताएका छन्।
उनीहरू ‘कन्सार्क’ नामक म्यानुफ्याक्चरिङ कम्पनीमा ‘जनरल वर्कर’ का रूपमा काम गर्न गएको भए पनि सम्झौताअनुसार सेवा–सुविधा नपाएको गुनासो गरेका छन्। सम्झौतामा मासिक ३ सय अमेरिकी डलर तलब, दैनिक ८ घण्टा काम र सातामा ६ दिन काम हुने उल्लेख भए पनि व्यवहारमा न त पूरा तलब पाइएको छ न त आधारभूत सुविधा नै उपलब्ध भएको छ।
पीडितहरूका अनुसार उनीहरूलाई व्यवस्थित उद्योगमा नभई जंगलको बीचमा रहेको असुरक्षित स्थानमा राखिएको छ, जहाँ उनीहरूलाई बाहिर निस्किन समेत दिइँदैन। आफूहरू बन्धकजस्तै अवस्थामा राखिएको उनीहरूको दाबी छ। खानापानको अवस्था पनि कमजोर रहेको भन्दै कहिले बासी त कहिले एक छाक मात्र खाना दिइने गरेको उनीहरूले बताएका छन्।
कामदारहरूले काम गर्दा आवश्यक सुरक्षा सामग्रीसमेत उपलब्ध नगराइएको गुनासो गरेका छन्। साथै, कामको हाजिरीमा समेत हेरफेर गरी तलब कटौती गरिएको आरोप उनीहरूको छ। जनवरीदेखि काम सुरु गरेका उनीहरूले हालसम्म पूरा तलब नपाएको बताएका छन्।
उनीहरू काठमाडौंको सामाखुसीस्थित पिस नेपाल ओभरसिज म्यानपावरमार्फत प्रतिव्यक्ति १ लाख ८५ हजार रुपैयाँ बुझाएर १२ जनवरी २०२६ मा श्रीलंका पुगेका थिए। तर, म्यानपावर कम्पनीले देखाएको भिडियो र वास्तविक कामबीच ठूलो अन्तर रहेको उनीहरूको भनाइ छ।
घरबाट ऋण लिएर वैदेशिक रोजगारीमा गएका ती कामदार अहिले ऋण तिर्न नसक्ने अवस्थामा पुगेका छन्। परिवारलाई पैसा पठाउन नसक्दा थप मानसिक तनाव झेल्नु परेको उनीहरूले बताएका छन्।
उनीहरूले नेपाल सरकार, सम्बन्धित निकाय र दूतावाससँग आफूहरूलाई तत्काल उद्धार गरी स्वदेश फर्काइदिन आग्रह गरेका छन्। वैदेशिक रोजगार विभागले उक्त म्यानपावर कम्पनीमाथि निगरानी बढाएको र आवश्यक उजुरी आए कारबाही प्रक्रिया अघि बढाउने जनाएको छ।






