१८ वैशाख, काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रबाट आज हटाइएका सुकुमवासीलाई पाँच स्थानमा अस्थायी बसोबासको व्यवस्था गरिएको छ। बल्खु, वंशीघाट, बालाजु र शंखमूल क्षेत्रमा रहेका घरटहरा भत्काइएपछि उनीहरूलाई सुरक्षित स्थानमा सार्ने काम अघि बढाइएको हो।
स्थानान्तरण गरिएका सुकुमवासीलाई ललितपुरको धापाखेलस्थित टेवा कार्यालय, भक्तपुरको खरिपाटीस्थित विद्युत तालिम केन्द्र, बोडेस्थित कृषि विकास बैंक तालिम केन्द्र, नगरकोट खानेपानी तालिम केन्द्र र काभ्रेको बनेपास्थित रेडक्रस भवनमा अस्थायी रूपमा राख्ने तयारी गरिएको सम्बन्धित निकायले जनाएको छ।
सुकुमवासीलाई नयाँ स्थानमा लैजानुअघि उनीहरूको विवरण संकलन गर्ने कार्य भइरहेको छ। यसका लागि काठमाडौंको दशरथ रंगशालामा दर्ता प्रक्रिया सञ्चालन गरिएको छ। हालसम्म ७२ जनाले स्वेच्छिक रूपमा पुगेर आफ्नो विवरण दर्ता गराएका छन्।
विवरण संकलन कार्यमा सहरी विकास तथा भवन निर्माण विभाग, काठमाडौं उपत्यका विकास प्राधिकरण, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति तथा काठमाडौं महानगर प्रहरीको संयुक्त टोली खटिएको छ।
सरकारले अस्थायी व्यवस्थापनसँगै दीर्घकालीन समाधानका लागि आवश्यक प्रक्रिया अघि बढाउने जनाएको छ।





