लुम्बिनी

रोल्पा जिप दुर्घटना: २० जनाकै सनाखत

१८ वैशाख, रुकुम । रोल्पामा बिहीबार भएको जिप दुर्घटनामा ज्यान गुमाएका २० जनाकै सनाखत भएको छ। जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार मृतकहरूको पहिचान खुलेपछि शव परिवारलाई बुझाउने प्रक्रिया अघि बढाइएको छ।

वैशाख पूर्णिमाको अवसरमा जलजलामा लाग्ने मेलामा सहभागी हुन गएकाहरू चढेको लु १ज ४१६७ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको थियो। दुर्घटनामा ज्यान गुमाउनेहरू रुकुम पूर्वको सिस्ने गाउँपालिका–५ टाकुरा, भूमे गाउँपालिका तथा दाङको घोराही उपमहानगरपालिका–१५ रतनपुरका विभिन्न स्थानका रहेका छन्।

दुर्घटनामा एक जना घाइते भएका थिए। सिस्ने गाउँपालिका–५ का समीर कामी उपचारपछि घर फर्किसकेको प्रहरीले जनाएको छ।

हाल दुर्घटनास्थलबाट शव निकाल्ने र आफन्तलाई बुझाउने काम भइरहेको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।