समाचार

चैतभित्र सुकुमवासी व्यवस्थापन गर्न रास्वपाको सरकारलाई सुझाव

२० वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चैत मसान्तभित्र सुकुमवासीको व्यवस्थित व्यवस्थापन गर्न सरकारलाई सुझाव दिएको छ। आइतबार बसेको सचिवालय बैठकले जोखिमपूर्ण क्षेत्रमा बसोबास गरिरहेका नागरिकलाई सुरक्षित स्थानमा सार्न आग्रह गरेको हो।

पार्टीका प्रवक्ता मनिष झा का अनुसार विशेषगरी काठमाडौं उपत्यकाका खोला किनारामा रहेका बस्तीहरू बाढीको उच्च जोखिममा छन्। त्यसैले वर्षा सुरु हुनुअघि नै सुरक्षित स्थानमा स्थानान्तरण गर्न आवश्यक रहेको उनले बताए।

रास्वपाले सुकुमवासी व्यवस्थापनका लागि अधिकार सम्पन्न प्राधिकरण गठन गर्न र वास्तविक लाभग्राहीको लगत तयार गर्न सुझाव दिएको छ। सोही आधारमा कम्तीमा ७५ प्रतिशत सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बसोबासमा लैजानुपर्ने प्रस्ताव गरिएको छ।

त्यस्तै, स्पष्ट तथ्यांक तयार नभएसम्म अनावश्यक रूपमा डोजर प्रयोग नगर्न पनि सरकारलाई आग्रह गरिएको छ। स्थानीय तहले आफ्नो अधिकार क्षेत्रभित्र समन्वय गरेर काम गरिरहेको बताइएको छ।

रास्वपाले सुकुमवासी व्यवस्थापन गर्दा गाँस, बास र स्वास्थ्यलाई प्राथमिकतामा राख्दै दीर्घकालीन समाधान खोज्न सरकारसँग आग्रह गरेको छ।