२० वैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सिफारिस गरेका ८ मध्ये ७ वटा अध्यादेश जारी गरेका छन् भने एउटा अध्यादेश पुनर्विचारका लागि प्रधानमन्त्री कार्यालयलाई फिर्ता पठाएका छन्।
संविधानको धारा ११४ को उपधारा १ अनुसार राष्ट्रपति पौडेलले पछिल्ला चार दिनमा विभिन्न क्षेत्रका ७ अध्यादेश जारी गरेका हुन्।
जारी भएका अध्यादेशहरूमा सार्वजनिक खरिद (दोस्रो संशोधन), सहकारी (पहिलो संशोधन), सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण (तेस्रो संशोधन), स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐन संशोधन, सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था, विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐन संशोधन र केही नेपाल ऐन संशोधन अध्यादेश, २०८३ रहेका छन्।
यसैबीच, संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी अध्यादेश भने राष्ट्रपति पौडेलले पुनर्विचारका लागि फिर्ता पठाएका छन्। उक्त विषयमा उनले संविधानविद्हरूसँग पनि परामर्श गरेको जनाइएको छ।
सरकारले सिफारिस गरेअनुसार अध्यादेशहरू जारी गर्ने क्रम पछिल्ला केही दिनदेखि तीव्र बनेको छ।





