२० वैशाख, काठमाडौं । रवि लामिछाने ले सरकारी जग्गामा बनेका अनधिकृत संरचना हटाउने क्रममा कुनै पनि नागरिकलाई घरबारविहीन हुन नदिने बताएका छन्।
आइतबार पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने सरकारको नीति रहेको स्पष्ट पारे।
लामिछानेका अनुसार भूमिहीन तथा सुकुमवासीका लागि शक्तिशाली प्राधिकरण वा आयोग गठन गरेर त्यसकै निर्णयअनुसार व्यवस्थापन गरिनेछ। उनले भने, “असुरक्षित ठाउँ नदी किनार, पहिरो र बाढीको जोखिम भएका क्षेत्रमा बसेका नागरिकलाई चाँडै स्थानान्तरण गरिनेछ, तर कसैलाई पनि घरबारविहीन बनाइने छैन।”
उनले असुरक्षित बस्ती व्यवस्थापनका लागि देशभर सूचना जारी भइसकेको जानकारी दिँदै जनतालाई आतंकित पार्ने काम सरकारबाट नभएको दाबी पनि गरे।
रास्वपा सभापतिले यस्तो व्यवस्थापन अभियानलाई सुरक्षित, व्यवस्थित र मानवीय ढंगले अघि बढाइने बताउँदै स्थानीय तहसँग समन्वय गरेर काम भइरहेको उल्लेख गरे।





