वैशाख २१, काठमाडौं । भारतको केरलामा भएको विधानसभा चुनावको परिणामसँगै वामपन्थी राजनीतिक इतिहासमा ठूलो परिवर्तन आएको छ। चुनावमा पिनराई विजयन नेतृत्वको वाम गठबन्धन (एलडीएफ) ले हार व्यहोरेपछि भारतमा ४९ वर्षपछि पहिलोपटक कुनै पनि राज्यमा कम्युनिस्ट नेतृत्वको सरकार नहुने अवस्था बनेको छ।
चुनाव परिणामअनुसार कंग्रेस नेतृत्वको युनाइटेड डेमोक्रेटिक फ्रन्ट (युडिएफ) ले १४० सदस्यीय विधानसभा मध्ये ९० भन्दा बढी सिट जित्दै बहुमत हासिल गरेको छ। यससँगै युडिएफले १० वर्षपछि केरलामा पुनः सत्ता सम्हाल्ने भएको छ।
केरला सन् १९५७ मा विश्वकै पहिलो लोकतान्त्रिक रूपमा निर्वाचित कम्युनिस्ट सरकार बनेको ऐतिहासिक राज्य हो। त्यसयता यो राज्यलाई भारतको वामपन्थी आन्दोलनको प्रमुख आधार क्षेत्र मानिँदै आएको थियो।
तर पछिल्ला निर्वाचन परिणामसँगै वामपन्थी दलहरूको प्रभाव निरन्तर कमजोर हुँदै गएको देखिएको छ। यसअघि पश्चिम बंगाल र त्रिपुरामा समेत वामपन्थी सरकार अन्त्य भइसकेको थियो।
अब केरलामा पनि हारसँगै भारतभर वामपन्थी नेतृत्वको सरकार शून्य भएको छ, जसलाई भारतीय वाम आन्दोलनका लागि ऐतिहासिक मोडका रूपमा हेरिएको छ।
विश्लेषकहरूका अनुसार भूमि सुधार, शिक्षा नीति र सामाजिक आन्दोलनमार्फत एक समय बलियो रहेको कम्युनिस्ट आन्दोलन पछिल्ला दशकमा बदलिँदो राजनीतिक समीकरण र जनमतका कारण कमजोर बन्दै गएको देखिन्छ।





