राजनीति

शेखर गोल्छालाई हिरासतबाहिरै अनुसन्धान गर्न अदालतको आदेश

२३ वैशाख, काठमाडौं । जिल्ला अदालत काठमाडौंले उद्योगी शेखर गोल्छालाई हिरासतमा राखेर अनुसन्धान गर्ने म्याद थप गर्न अस्वीकार गरेको छ।

न्यायाधीश मोना सिंहको इजलासले हिरासतमा राखी अनुसन्धान गर्नुपर्ने पर्याप्त आधार नदेखिएको भन्दै म्याद थप गर्न नमिल्ने आदेश दिएको हो। आदेशसँगै अब केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई हिरासतबाट मुक्त गरी अनुसन्धान अघि बढाउनुपर्ने भएको छ।

अदालतको आदेशमा मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १४(३) अनुसार हिरासतमा राख्ने अवस्था पुष्टि नभएको उल्लेख गरिएको छ।

यसअघि सर्वोच्च अदालतले पनि धितोपत्र कसुरसम्बन्धी अनुसन्धानमा थुनामा राखेर अघि बढाइएको विषयमा प्रश्न उठाएको थियो। त्यसपछि सीआईबीले उनलाई बीमा सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको बताउँदै रिहा नगरेको थियो।

तर बीमा सम्बन्धी कसुरमा म्याद थपका लागि जिल्ला अदालतमा पेश गर्दा अदालतले पुनः म्याद थप गर्न अस्वीकार गरेको हो।

अब अनुसन्धान प्रक्रिया हिरासतबाहिरै अघि बढ्ने भएको छ।