अन्तर्राष्ट्रिय

बेइजिङ भेटमा इरान–चीन संवाद तीव्र

पश्चिम एसियामा बढ्दो अस्थिरता र विश्व शक्ति सन्तुलनको बदलिँदो समीकरणबीच इरानले आफ्नो कूटनीतिक सक्रियता तीव्र बनाएको छ । यही सन्दर्भमा इरानका विदेशमन्त्री अब्बास अराघचीले बेइजिङमा चिनियाँ समकक्षी वाङ यीसँग उच्चस्तरीय भेटवार्ता गर्दै द्विपक्षीय सम्बन्ध विस्तारदेखि क्षेत्रीय सङ्कटसम्मका विषयमा गहन छलफल गरेका छन्।

चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा बुधबार बेइजिङ पुग्नुभएका अराघचीको यो भ्रमणलाई तेहरानको सक्रिय कूटनीतिक पहलका रूपमा हेरिएको छ । इरानको सरकारी प्रसारण संस्था इस्लामिक रिपब्लिक अफ इरान ब्रोडकास्टिङ ९आइआरआइबी० का अनुसार, पश्चिम एसियामा तीव्र बन्दै गएको तनाव र अन्तर्राष्ट्रिय घटनाक्रमलाई ध्यानमा राख्दै यो भ्रमण आयोजना गरिएको हो । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले सामाजिक सञ्जालमार्फत भेटको पुष्टि गर्दै दुवै पक्षले वर्तमान भूराजनीतिक अवस्थाबारे विचार आदानप्रदान गर्ने बताए । अराघचीले पनि आफ्नो भ्रमणलाई ‘विश्वका साझेदारहरूसँग जारी कूटनीतिक परामर्श’ को हिस्सा भएको उल्लेख गर्दै द्विपक्षीय सहकार्य र क्षेत्रीय स्थिरता दुवैमा केन्द्रित रहने बताए । बेइजिङको यो भ्रमण अराघचीको हालै सम्पन्न बहु–देशीय कूटनीतिक यात्राको निरन्तरता हो । उनले यसअघि पाकिस्तान, ओमान र रुसको भ्रमण गरिसकेको थियो, जसलाई पश्चिम एसियाली तनावबीच समर्थन जुटाउने इरानको रणनीतिक प्रयासका रूपमा विश्लेषण गरिएको छ । रुसको सेन्ट पिटर्सबर्ग भ्रमणका क्रममा अराघचीले राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गरेका थिए । रूसी समाचार संस्था तासका अनुसार उक्त भेटमा पुटिनले मध्यपूर्वमा चाँडो शान्ति स्थापनाका लागि रुसले आफ्नो तर्फबाट सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । साथै उनले इरानी जनताको सार्वभौमसत्ताको पक्षमा ‘साहसिक रूपमा उभिएको’ भन्दै प्रशंसा पनि गरेका थिए । ती वार्ताहरूमा अराघचीले विशेषगरी संयुक्त राज्य अमेरिका र इजरायल संलग्न गतिविधिलाई ‘युद्ध र आक्रामकता’ को रूपमा व्याख्या गर्दै त्यसबारे चिन्ता व्यक्त गरेका थिए । पुटिनले रुस इरानको हितको पक्षमा उभिने र क्षेत्रीय शान्ति पुनःस्थापनामा सहयोग गर्ने आश्वासन दिनुभएको बताइएको छ । यसले तेहरान–मस्कोबीचको रणनीतिक निकटतालाई थप स्पष्ट पारेको छ । यसअघि पाकिस्तान भ्रमणका क्रममा अराघचीले त्यहाँका अधिकारीहरूसँग पछिल्ला घटनाक्रम र इरान–अमेरिका सम्भावित वार्ताका सर्तहरूबारे छलफल गरेका थिए। उनले इस्लामाबादमा भएका परामर्शहरूलाई ‘धेरै फलदायी’ भएको बताएका थिए। त्यसपछि ओमानको राजधानी मस्कटमा भएको भेटवार्तामा समुद्री सुरक्षालाई प्राथमिकता दिइएको थियो । विशेषगरी स्ट्रेट अफ हर्मुजको रणनीतिक महत्त्वबारे छलफल केन्द्रित रहेको थियो । स्ट्रेट अफ हर्मुजलाई विश्व ऊर्जा आपूर्तिका लागि अत्यन्त महत्त्वपूर्ण मार्ग मानिन्छ । इरना समाचार एजेन्सीका अनुसार अराघचीले इरान र ओमान दुवै यस जलघाँटीका तटीय राष्ट्र भएकाले पारस्परिक समन्वय अपरिहार्य रहेको बताएका थिए। यी सम्पूर्ण कूटनीतिक पहलहरूले महत्त्वपूर्ण समुद्री मार्ग र क्षेत्रीय प्रभावमाथिको नियन्त्रणलाई लिएर संयुक्त राज्य अमेरिकासँग जारी शक्ति प्रतिस्पर्धाको सन्दर्भमा इरानले आफ्ना साझेदारहरूसँग सम्बन्ध सुदृढ पार्ने प्रयास गरिरहेको सङ्केत गर्छन् ।