२३ वैशाख, काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारका पछिल्ला कामकारबाहीप्रति तीन प्रमुख आपत्ति जनाउँदै विधिको शासनअनुसार अघि बढ्न सरकारलाई सुझाव दिएका छन्।
बुधबार संसद्मा सांसदहरूलाई प्रशिक्षण दिने क्रममा थापाले सञ्चारकर्मीहरूसँग कुरा गर्दै सरकार बहुमतको भ्रममा परेको, संवैधानिक परिषद्सम्बन्धी प्रक्रियामा चलखेल भएको र सुकुमवासीप्रति राज्यले क्रूर व्यवहार गरेको भन्दै आपत्ति जनाएका हुन्।
थापाले पहिलो आपत्तिका रूपमा सरकारलाई बहुमत भए पनि विधि र कानुनभन्दा माथि नजान चेतावनी दिँदै लोकतन्त्रमा कानुन सबैका लागि बराबर हुने बताए।
दोस्रो आपत्तिमा उनले संवैधानिक परिषद्सम्बन्धी बैठक र नियुक्ति प्रक्रियामा जालझेल भएको आरोप लगाउँदै संवैधानिक निकायहरूमा राजनीतिक हस्तक्षेप स्वीकार्य नहुने धारणा राखे। उनका अनुसार परिषद्को आगामी बैठकमा समेत विवादास्पद प्रक्रिया अघि बढाइएको छ, जसप्रति कांग्रेसको गम्भीर असहमति छ।
तेस्रो आपत्तिमा थापाले सुकुमवासीप्रति राज्यले देखाएको व्यवहारलाई “क्रूर” भन्दै आलोचना गरे। उनले वैकल्पिक व्यवस्थापन नगरी बस्ती हटाउनु संविधान र कानुनविपरीत भएको उल्लेख गर्दै नागरिकको मर्यादा र इज्जतको रक्षा राज्यको दायित्व भएको बताए।
थापाले केही सरकारी कदमहरूमा समर्थन रहे पनि आधारभूत लोकतान्त्रिक मूल्य र विधिको शासनविपरीतका काममा कांग्रेस दृढतापूर्वक उभिने स्पष्ट पारे।





