राजनीति

प्रधानन्यायाधीश सिफारिसमा सुशीला कार्कीको भनाई ‘गलत निर्णयको परिणाम सरकारले भोग्छ’

२४ वैशाख, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले हालै भएको प्रधानन्यायाधीश सिफारिसप्रति असहमति जनाउँदै यसलाई गलत निर्णयको संज्ञा दिएकी छिन्। उनका अनुसार वरिष्ठताक्रम र योग्यतालाई बेवास्ता गर्दै गरिएको सिफारिसले न्यायिक परम्परा कमजोर बनाएको छ।

कार्कीले सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल सक्षम र योग्य हुँदाहुँदै पनि उनलाई पन्छाएर चौथो वरीयतामा रहेका डा. मनोजकुमार शर्मालाई सिफारिस गर्नु अनुचित भएको टिप्पणी गरिन्। उनले यस्तो निर्णयको दीर्घकालीन परिणाम वर्तमान सरकारले नै भोग्नुपर्ने चेतावनी पनि दिएकी छिन्।

उनका अनुसार न्यायाधीशहरूको पदोन्नति प्रणाली योग्यता र अनुभवका आधारमा क्रमिक रूपमा अघि बढ्ने प्रक्रिया हो, जसलाई बेवास्ता गर्न नहुने बताइन्। उनले न्यायपालिका जस्तो संवेदनशील संस्थामा परम्परा र प्रणालीको सम्मान आवश्यक रहेको जोड दिइन्।

कार्कीले सपना प्रधान मल्लको योगदान विशेषगरी महिला अधिकार र कानुन निर्माणमा महत्वपूर्ण रहेको उल्लेख गर्दै उहाँलाई रोक्नु न्यायोचित नभएको धारणा व्यक्त गरिन्।

उनले आफ्नो कार्यकालको अनुभव स्मरण गर्दै न्यायिक नेतृत्व चयनमा योग्यताको आधारलाई नै मुख्य मापदण्ड बनाउनुपर्नेमा जोड दिइन्।