२५ वैशाख, काठमाडौं । प्रहरी वृत्त मालीगाउँमा कार्यरत प्रहरी नायब निरीक्षक दिनेश राउत विरुद्ध घुस लिएको आरोपमा विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार बैंकिङ कसुरअन्तर्गतको चेक बाउन्स मुद्दामा मिलापत्र गराइदिने भन्दै राउतले सेवाग्राहीसँग २० हजार रुपैयाँ घुस मागेका थिए ।
उजुरीका आधारमा टंगालबाट खटिएको अख्तियारको टोलीले उनलाई सेवाग्राहीबाट २० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।
अनुसन्धानका क्रममा राउतले मुद्दाको प्रक्रिया सहजीकरण गरिदिने भन्दै विभिन्न बहानामा सेवाग्राहीलाई दुःख हैरानी दिई घुस लिएको पुष्टि भएको अख्तियारले जनाएको छ ।
अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार २० हजार रुपैयाँ बिगो कायम गरी कैद र जरिवानाको मागदाबी गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।





