राजनीति

सुदूरपश्चिम कांग्रेस भेला, प्रदेश र कैलाली सभापति ‘गायब

२६ वैशाख, धनगढी । नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेशस्तरीय भेला शनिबारदेखि धनगढीमा सुरु भएको छ । पार्टी सभापति गगनकुमार थापा सहित शीर्ष नेताहरू कार्यक्रममा सहभागी हुन धनगढी पुगेका छन् । विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित भएपछि थापाले पहिलोपटक पूर्वसभापति शेरबहादुर देउवा को गृहप्रदेशमा आयोजित कार्यक्रममा सम्बोधन गर्न लागेका हुन् ।

थापालाई धनगढी विमानस्थलमा नेता–कार्यकर्ताले स्वागत गरेका थिए । स्वागतका लागि सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह मन्त्रीहरूसहित विमानस्थल पुगेका थिए । तर सुरक्षाकर्मीले भित्र प्रवेश नदिएपछि मुख्यमन्त्री शाहले थापासँग प्रत्यक्ष भेट गर्न भने पाएनन् ।

भेलाको सुरुवातमै देउवा पक्षका केही नेताहरू अनुपस्थित देखिएका छन् । प्रदेश सभापति वीरबहादुर बलायर र कैलाली सभापति नारायणदत्त भट्ट विमानस्थल स्वागतमा उपस्थित भएनन् । स्रोतका अनुसार बलायर भने भेलामा सहभागी हुने बताइएको छ ।

राष्ट्रिय सभा सदस्यसमेत रहेका भट्टले भने संसदीय कामका कारण काठमाडौंमै रहेकाले कार्यक्रममा उपस्थित हुन नसकेको बताएका छन् । उनले आफ्नो अनुपस्थितिलाई राजनीतिक असहमतिसँग जोड्न नहुने स्पष्ट पारे ।

दुई दिनसम्म चल्ने भेलामा प्रतिनिधिसभा निर्वाचनको समीक्षा, स्थानीय तहका जनप्रतिनिधिको कामकारबाही तथा संगठन सुदृढीकरणका विषयमा छलफल हुने कांग्रेसले जनाएको छ ।