राजनीति

भण्डारीलाई प्रमुख अतिथि बनाएर एमालेले मनायो मदन-आश्रित स्मृति दिवस

३ जेठ, काठमाडौं । विद्यादेवी भण्डारी लाई प्रमुख अतिथि बनाएर नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले ३३औं मदन–आश्रित स्मृति सभा सम्पन्न गरेको छ । कार्यक्रम पुरानो पार्टी कार्यालय रहेको बल्खुस्थित मैदानमा आयोजना गरिएको थियो ।

पार्टी सदस्यता नवीकरण रोकिएपछि भण्डारीलाई एमालेले वक्ताका रूपमा सहभागी गराएको यो पहिलो सार्वजनिक कार्यक्रम हो । भण्डारीका स्वकीय सचिव राजकुमार राईका अनुसार पार्टीको निमन्त्रणा अनुसार उनी कार्यक्रममा सहभागी भएकी हुन् ।

गत वर्ष साउनमा एमालेले भण्डारीको पार्टी सदस्यता नवीकरण नगर्ने निर्णय गरेको थियो । पार्टी नेतृत्वमा सक्रिय हुने संकेत देखिएपछि अध्यक्ष केपी शर्मा ओली ले सदस्यता नवीकरण रोक्ने निर्णय सुनाएका थिए । उक्त निर्णयमा उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव शंकर पोखरेल लगायत नेताहरूले समर्थन जनाएका थिए ।

तर, सोही नेताहरूको उपस्थितिमा भण्डारीलाई प्रमुख अतिथि बनाएर एमालेले मदन–आश्रित स्मृति दिवस मनाएको हो । यद्यपि, उनलाई पुनः सक्रिय राजनीतिमा फर्काउने विषयमा पार्टीको आधिकारिक निर्णय भने परिवर्तन भएको छैन ।

कार्यक्रमलाई सम्बोधन गर्दै भण्डारीले एमालेले जनविश्वास बलियो बनाउन जनमुखी कार्यशैली, आत्मअनुशासन र सेवाभावलाई व्यवहारमा उतार्नुपर्ने बताइन् । उनले कार्यकर्तालाई जनताको दुःख–सुखमा सहभागी हुन र सकारात्मक राजनीतिक संस्कार निर्माणमा सक्रिय बन्न आग्रह गरिन् ।

युवापुस्तालाई विशेष रूपमा सम्बोधन गर्दै उनले मदन–आश्रित स्मृति दिवसलाई औपचारिकतामा सीमित नराखी वैचारिक पुनर्जागरण र नयाँ संकल्पको अवसरका रूपमा लिनुपर्ने धारणा राखिन् ।