३ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा ले कांग्रेसप्रति जनताको भरोसा पुनः स्थापित गर्न आफू जनतामाझ जाने बताएका छन् । पार्टीले पछिल्लो समय ठूलो संख्यामा शुभेच्छुक र समर्थकको विश्वास गुमाएको उल्लेख गर्दै उनले त्यो भरोसा फर्काउनु अहिलेको मुख्य चुनौती भएको बताए ।
उनले देशका मूल मुद्दामा कांग्रेसलाई स्पष्ट रूपमा उभ्याउन पार्टीभित्र गम्भीर छलफल आवश्यक रहेको धारणा राखे । कांग्रेस केवल संगठनको संरचनाभित्र सीमित नभई ठूलो विचार र जनसमर्थन बोकेको पार्टी भएको उनको भनाइ थियो ।
विशेष महाधिवेशनको आवश्यकता औंल्याउँदै थापाले पार्टीले किन जनताको विश्वास गुमायो भन्ने विषयमा खुलेर समीक्षा गर्नुपर्ने बताए । उनका अनुसार कांग्रेसले यसपटक करिब १० लाख शुभेच्छुक तथा समर्थकको मत गुमाएको छ ।
उनले पार्टी सभापतिको जिम्मेवारीमा रहेर कांग्रेसप्रति जनतामा पुनः विश्वास जगाउने प्रतिबद्धता व्यक्त गरे । “जे कारणले मानिस कांग्रेस भएका हुन्, म त्यही विश्वास र भावना फिर्ता गर्न चाहन्छु,” उनले भने ।





