समाचार

प्रधानन्यायाधीश सिफारिस शर्माको सुनुवाइ प्रक्रिया भोलिबाट

४ जेठ, काठमाडौं । डा. मनोज शर्मा को भोलि नै संसदीय सुनुवाइ हुने भएको छ । प्रधानन्यायाधीशमा सिफारिस भएका शर्माविरुद्ध १६ वटा उजुरी परेपछि संसदीय सुनुवाइ समिति ले सुनुवाइ प्रक्रिया अघि बढाउन लागेको हो ।

समितिले यसअघि वैशाख २६ गतेको बैठकबाट १० दिनको समय दिँदै प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध उजुरी आह्वान गरेको थियो । सो अवधिभित्र १६ वटा उजुरी दर्ता भएको समितिले जनाएको छ ।

प्राप्त उजुरी खोल्नका लागि समितिको बैठक बिहान ८ बजे बस्ने तय गरिएको छ । समितिका सभापति बोधनारायण श्रेष्ठ का अनुसार उजुरी खोलिएपछि सांसदहरूलाई वितरण गरिनेछ ।

त्यसपछि बिहान १० बजेदेखि उजुरीकर्तासँग छलफल गरिने र निरन्तर बैठकमार्फत प्रस्तावित प्रधानन्यायाधीश शर्माको संसदीय सुनुवाइ अघि बढाइने तयारी रहेको समितिले जनाएको छ ।