६ जेठ, काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय को टोली मंगलबार सिन्धुपाल्चोकस्थित भोटेकोशी हेली रिसोर्ट एण्ड स्पा पुगेर केही डिजिटल डिभाइस बरामद गरेको छ।
कार्यालयका एसएसपी सन्तोष खड्का का अनुसार करिब १५ दिनअघि एक चिनियाँ महिलाले रिसोर्टमा आफू लुटिएको भन्दै उजुरी दिएकी थिइन्। उनले ९० हजार चिनियाँ मुद्रा, सुनका गरगहना, डलर, आइफोन र ल्यापटप हराएको दाबी गरेकी छन्।
प्रहरीले घटनासम्बन्धी विवरण र डिजिटल सामग्री माग्दा रिसोर्टले उपलब्ध नगराएपछि अनुसन्धान टोली प्रत्यक्ष रूपमा रिसोर्ट पुगेको जनाएको छ।
प्रहरीका अनुसार घटना फागुन अन्तिम साता भएको भए पनि रिसोर्ट व्यवस्थापनले समस्या समाधान गरिदिने भन्दै समय बिताउँदा ढिलो गरी जाहेरी परेको हो। अहिले घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





