समाचार

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौं, ७ जेठ । रूपन्देही, सैनामैना नगरपालिका-३ दर्खासेस्थित सडकमा लु. प्र ०१-००१ ह २७५३ नम्बरको अटोको ठक्करबाट सोही ठाउँ बस्ने गीता भट्टको छोरा ३ वर्षीय प्रियान्स भट्टको बुधबार बेलुकी मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

सुनसरी, दुहबी नगरपालिका-८ पशुपति खाद्य उद्योग अगाडि सडकमा इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको प्र. १-०२-०६०प २१२३ नम्बरको स्कुटर अनियन्त्रित भई बुधबार दिउँसो दुर्घटना हुँदा चालक मोरङ विराटनगर महानगरपालिका-३ बस्ने ४२ वर्षीया खगमाया खरेलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको विराट नर्सिङ होम विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । 

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।