७ जेठ, काठमाडौं । विपक्षी दलहरूले सभामुख डोलप्रसाद अर्यालबाटै प्रतिनिधिसभा नियमावलीको पालना नभएको आरोप लगाएका छन् ।
प्रधानमन्त्री वालेन्द्र शाह संसद्मा अनुपस्थित रहेकै बेला उनको तर्फबाट कानुनमन्त्री सोबिता गौतमलाई विधेयक प्रस्तुत गर्न समय दिइएको भन्दै विपक्षीले विरोध जनाएका हुन् ।
प्रतिनिधिसभामा नेकपा एमालेका प्रमुख सचेतक ऐन महरलगायत विपक्षी सांसदहरूले नियमावलीअनुसार प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुनुपर्ने व्यवस्था कार्यान्वयन नभएको विषय उठाए ।
उनीहरूले जेठ र असार महिनाको संसदीय क्यालेन्डरमै प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम नराखिएको भन्दै आपत्ति जनाए ।
विपक्षीले प्रधानमन्त्रीलाई संसद्मा उपस्थित गराउन सभामुखले रुलिङ गर्नुपर्ने मागसमेत गरेका छन् । तर सभामुखले माग नसुनी विधेयक अघि बढाउन दिएपछि संसद्मा विरोध चर्किएको हो ।





