राजनीति

रास्वपाले नेपाली जनतालाई निराश हुन दिँदैनः महामन्त्री बुर्लाकोटी

८ जेठ, पर्वत । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कबिन्द्र बुर्लाकोटीले राष्ट्रिय स्वतन्त्र पार्टीले जनतालाई निराश हुन नदिने बताएका छन् । पर्वत सदरमुकाम कुश्माबजारमा आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले नागरिकले चाहेजस्तो शिक्षा, स्वास्थ्य, रोजगारी, सुशासनका क्षेत्रमा सरकारले प्रभावकारी काम भइरहेको बताए ।

महामन्त्री बुर्लाकोटीले देशमा भएका बेतिथि र विसङ्गतिको जालाहरू तोड्नका लागि नेपाली जनताले पार्टीलाई करिब दुईतिहाइको बहुमत दिएर सरकारमा पठाएको बताउँदै विपक्षी दलहरूले जतिसुकै विरोध गरे पनि त्यस्ता जालाहरू तोडेरै छाड्ने बताए ।

उनले जनताको निराशालाई आशामा बदल्न काम नै गरेर देखाउनुपर्ने बताउँदै सोही कारणले संसद्मा प्रधानमन्त्री आउन नभ्याएको बताए । काम गर्ने बेलामा फोन उठाएर र संसद्मा बोलेर नतिजा दिन नसकिने बताउँदै महासचिव बुर्लाकोटीले काम नै गरेर देखाउने भएकाले कम्तीमा छ महिना पर्खेर हेरिदिन आग्रह गरे ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य सागर भुसालले समग्र पर्वत जिल्लाको विकास र समृद्धिका लागि आफू निरन्तर लागिपरेको बताए । उनले आफूले पालिका सचिवालय सदस्यहरू नियुक्तिको विषयमा आलोचना भए पनि सहजतासहितको कार्यसम्पादनका लागि गठन गरिएको दाबी गर्दै आजैबाट विघटन गरेको घोषणासमेत गरे ।