१० जेठ, काठमाडौं । काठमाडौंको नरेफाँट क्षेत्रमा एक युवकमाथि धारिलो हतियार प्रहार भएको घटना सार्वजनिक भएको छ। शुक्रबार दिउँसो करिब २ बजेतिर भएको उक्त घटनामा सिरहाको कर्जन्हा नगरपालिका–१० घर भई हाल नरेफाँट बस्दै आएका १८ वर्षीय करणकुमार साह घाइते भएका हुन्।
घाइते साहले आफूमाथि अभिषेक यादव, धनराज यादवसहित ५/६ जनाले आक्रमण गरेको भन्दै प्रहरी वृत्त नयाँ बानेश्वरमा उजुरी दिएका छन्। आक्रमणमा संलग्न भनिएका अभिषेक यादव र धनराज यादव दुवै धनुषा घर भई हाल ललितपुरको टिकाथली क्षेत्रमा बस्दै आएका छन्।
पीडितका अनुसार आक्रमणबाट उनको हात, ढाड, घाँटी र टाउकोमा चोट लागेको छ। प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको छ। प्रारम्भिक अनुसन्धानमा घटनाको कारण पारिवारिक विवाद रहेको खुलेको प्रहरीले जनाएको छ।
प्रहरी स्रोतका अनुसार आक्रमणमा संलग्न र पीडितबीच मामा–भान्जाको सम्बन्ध रहेको र यसअघि पनि उनीहरूबीच विवाद भएको थियो। पुरानो झगडाकै प्रतिशोधस्वरूप शुक्रबारको आक्रमण भएको हुनसक्ने प्रहरीको अनुमान छ।



