१३ जेठ, काठमाडौं । पूर्व राष्ट्रपति रामवरण यादवले गणतन्त्र दिवसको अवसरमा प्रधानमन्त्री बालेन शाहले देशवासीका नाममा सम्बोधन गर्दै राष्ट्रको भावी दिशा स्पष्ट पार्नुपर्ने बताएका छन् ।
नेपाल प्रेस युनियनको ३५ औं स्थापना दिवस तथा विधान सभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै यादवले देशले कता जाने, सरकारको सोच र आगामी योजना के हुन् भन्ने विषयमा जनतालाई जानकारी दिन आवश्यक रहेको बताए । उनले दिवस केवल औपचारिक समारोहमा सीमित नभई राष्ट्रिय दृष्टिकोण प्रस्तुत गर्ने अवसर पनि भएको उल्लेख गरे ।
“राष्ट्रबारे के सोच बनाइएको छ र देशलाई कुन दिशामा अघि बढाइन्छ भन्ने विषय प्रधानमन्त्रीले टुँडिखेलको मञ्चबाट स्पष्ट पार्नुपर्छ,” उनले भने । यादवले लोकतान्त्रिक व्यवस्थामा नेतृत्वको स्पष्ट दृष्टिकोण र जनतासँग प्रत्यक्ष संवाद आवश्यक हुने धारणा पनि राखे ।





