रोजगारी

विभिन्न देशका लागि नेपालको राजदूत पदमा आवेदन आह्वान, यस्ता छन् मापदण्ड

१५ जेठ, काठमाडौं । नेपालको परराष्ट्र नीति, अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिको प्रभावकारी सञ्चालन तथा प्रवर्द्धन गर्नका लागि नेपाल सरकार, परराष्ट्र मन्त्रालयले विभिन्न मुलुकहरूका लागि नेपालको राजदूत पदमा योग्य तथा इच्छुक नेपाली नागरिकहरूको दरखास्त र सिफारिस आह्वान गरेको छ।

नियुक्ति प्रक्रिया अन्तर्गत इच्छुक तथा योग्य उम्मेदवारहरूले स्वयम्ले पनि आफ्नो दरखास्त पेश गर्न सक्नेछन् । साथै अन्य कुनै व्यक्ति तथा निकायले योग्य उम्मेदवारको नाम सिफारिस गर्न सक्ने व्यवस्था गरिएको छ।

राजदूत नियुक्तिसम्बन्धी निर्देशिका, २०७५ को अधीनमा रह‍ी तयार गरिएको वेबसाइटमा उपलब्ध कार्यशर्त बमोजिमको आवश्यक योग्यता पुगेका उम्मेदवारहरूको सिफारिस गर्न सकिनेछ।

सम्भावित उम्मेदवारहरूको आवेदन र सिफारिस गर्दा मन्त्रालयको आधिकारिक वेबसाइटमा उपलब्ध फारममार्फत विस्तृत व्यक्तिगत विवरण कागजातहरू पेश गर्नुपर्नेछ ।

दरखास्त र सिफारिस बुझाउने अन्तिम मिति जेठ २२ गते साझ ५ बजेसम्म रहेको छ।

रीत नपुगेका वा तोकिएको म्याद नाघी आएका आवेदनहरूलाई छनौट प्रक्रियामा समावेश नगरिने
जनाइएको छ ।

मन्त्रालयले प्राप्त आवेदन तथा सिफारिसहरूबाट प्रारम्भिक सूची तयार गरी योग्यता र उपयुक्तताका आधारमा उम्मेदवारहरूको सर्टलिस्ट गर्नेछ। सर्टलिस्टमा परेका उम्मेदवारहरूलाई मात्र थप प्रक्रियाका लागि सम्पर्क गरिनेछ।