समाचार

सङ्खुवासभामा सुख्खा पहिरो खस्दा कोशी राजमार्ग अवरुद्ध

१६ जेठ, सङ्खुवासभा । सङ्खुवासभाको भोटखोला गाउँपालिका–४ मा सुख्खा पहिरो खस्दा उत्तर–दक्षिण कोशी राजमार्गअन्तर्गत खाँदबारी–किमाथाङ्का सडकखण्ड अवरुद्ध भएको छ।

जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका अनुसार माथिबाट खसेको ठूला ढुङ्गासहितको सुख्खा पहिरोले सडक अवरुद्ध बनाएको हो। पहिरोका कारण करिब १५ मिटर कच्ची सडकखण्ड पुरिएको छ।

सडक अवरुद्ध भएपछि खाँदबारीबाट भोटखोलाको च्याम्ताङतर्फ आवतजावत गर्ने सवारीसाधन सञ्चालनमा समस्या भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धनबहादुर राजवंशीका अनुसार सडकमा थुप्रिएको ढुङ्गा र माटो हटाउने काम भइरहेको छ। पहिरो पन्छाएर यथाशीघ्र यातायात सञ्चालन सुचारु गराउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ।