१६ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार बन्न चाहने व्यक्तिले अनिवार्य रूपमा लिडरसीप एकेडेमीको कोर्ष पूरा गर्नुपर्ने बताएका छन्।
शनिबार नेपाल थारु संघको प्रथम महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै थापाले कांग्रेसले नेतृत्व विकासका लागि लिडरसीप एकेडेमी सञ्चालन गर्न लागेको जानकारी दिए। उनका अनुसार स्थानीय तहका ७५३ वटै पालिकामा उम्मेदवारी दिन चाहने नयाँ तथा पुराना नेताले उक्त एकेडेमीमा भर्ना भएर निर्धारित कोर्ष पूरा गरेपछि मात्र उम्मेदवार बन्न पाउनेछन्।
थापाले यसपटक कम्तीमा १०० पालिकामा महिला मेयर वा अध्यक्ष उम्मेदवार उठाउने लक्ष्य कांग्रेसले लिएको पनि बताए। त्यसका लागि अहिलेबाटै महिला नेतृत्व विकासमा विशेष ध्यान दिनुपर्ने उनको भनाइ थियो।
उनले निर्वाचनको तयारीलाई व्यवस्थित बनाउन पार्टीले निर्वाचन ब्युरो गठन गरेको र त्यसको नेतृत्व पुष्पा भुसालले गरिरहेको जानकारी दिए। साथै, विभिन्न समुदायको प्रतिनिधित्व बढाउँदै कांग्रेस आगामी निर्वाचनमा जाने तयारीमा रहेको उनले बताए।





