समाचार

प्रदेशमा क्रियाशील सदस्यता अद्यावधिक अभियान तीव्र बनाउन कांग्रेसद्वारा विशेष जिम्मेवारी प्रदान

काठमाडौं, १७ जेठ । नेपाली कांग्रेसले पार्टीको क्रियाशील सदस्यता अद्यावधिक कार्यलाई प्रभावकारी र समयमै सम्पन्न गर्न कोशी प्रदेशमा विशेष जिम्मेवारी तोकेको छ।

पार्टीका महामन्त्री तथा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलले जारी गरेको पत्रअनुसार सदस्यता व्यवस्थापन केन्द्रीय समितिको जेठ ११ गते बसेको बैठकको निर्णयबमोजिम उक्त जिम्मेवारी प्रदान गरिएको हो।

पत्रमा क्रियाशील सदस्यता अद्यावधिक कार्यलाई सहज, व्यवस्थित र द्रुत गतिमा अगाडि बढाउन पार्टीका सबै संगठनात्मक संरचना, भ्रातृ संस्था तथा शुभेच्छुक संस्थाहरूलाई परिचालन गर्न निर्देशन दिइएको छ।

साथै, कोशी प्रदेशमा रहेका पार्टीका केन्द्रीय पदाधिकारी तथा सदस्य, प्रतिनिधिसभा सदस्य उम्मेदवार, ‘जरा अभियान’का केन्द्रीय प्रतिनिधि, जिल्ला सभापति, प्रतिनिधिसभा क्षेत्रीय सभापति, प्रदेशसभा सदस्य, प्रदेशसभा क्षेत्रीय सभापति तथा पालिका सभापतिहरूसँग आवश्यक समन्वय गर्न भनिएको छ।

पत्रमा हाल सदस्यता अद्यावधिकको अवस्था मूल्यांकन गरी प्रक्रिया सञ्चालनमा रहेको स्थानमा थप प्रभावकारिता ल्याउने र प्रक्रिया सुरु नभएका स्थानमा तत्काल सुरु गराउने व्यवस्था मिलाउन आग्रह गरिएको छ।

नेपाली कांग्रेसले कोशी प्रदेशभित्र क्रियाशील सदस्यता अद्यावधिक कार्य २०८३ जेठ २१ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखेको जनाएको छ। पार्टीले तोकिएको जिम्मेवारी सफलतापूर्वक सम्पन्न हुने विश्वाससमेत व्यक्त गरेको छ।

यस सम्बन्धमा नेपाली कांग्रेस कोशी प्रदेश कार्यसमिति तथा सम्बन्धित जिल्ला कार्यसमितिलाई समेत बोधार्थ तथा कार्यार्थका लागि जानकारी गराइएको छ।