१७ जेठ, काठमाडौं । प्रतिनिधिसभा नियमावली संशोधनलाई विषयगत समितिमा पठाउने विषयमा विवाद चर्किँदा संसद् बैठकमा सत्तापक्ष र विपक्षी सांसदहरूबीच वेलमै धकेलाधकेल र चर्काचर्की भएको छ।
नियमावलीमाथिको दफावार छलफल सकिएपछि संशोधन प्रस्तावहरूलाई निर्णयार्थ प्रस्तुत गर्ने क्रममा विपक्षी दलले विषयगत समितिमा थप छलफलका लागि पठाउन माग गरेका थिए। नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले संशोधनहरू समितिमा पठाउन आग्रह गरे पनि सभामुखले पूर्वनिर्धारित कार्यसूचीअनुसार बैठक अगाडि बढाए।
सभामुखले संशोधन प्रस्तावहरू निर्णयार्थ प्रस्तुत गर्न थालेपछि विपक्षी सांसदहरू नाराबाजी गर्दै वेलमा पुगेका थिए। त्यसपछि सत्तापक्षका सांसदहरू पनि वेलमा उत्रिएपछि दुवै पक्षबीच भनाभन, औंला ठड्याउने र धकेलाधकेलको अवस्था सिर्जना भएको थियो।
स्थिति तनावपूर्ण बनेपछि सभामुखले पटक–पटक सदनको मर्यादा कायम राख्न आग्रह गर्दै अन्ततः प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित गरेका छन्।
सत्तारुढ दलले भने प्रतिनिधिसभा नियमावली आजै पारित गर्ने तयारी गरेको जनाएको छ।





