१९ जेठ, काठमाण्डौँ । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ले नयाँ दिल्लीमा राजनीतिक भेटघाट सुरु गरेका छन्।
भारतीय जनता पार्टीको निमन्त्रणामा भारत पुगेका लामिछानेलाई पार्टी कार्यालयमा परम्परागत झाँकी, फूलमाला तथा भव्य स्वागतसहित सम्मान गरिएको हो।
पाँच दिने भारत भ्रमणका क्रममा उनी पार्टी कार्यालय पुगेपछि नेताकार्यकर्ताहरूले औपचारिक रूपमा स्वागत गरेका थिए। सो अवसरमा उनले भारतीय जनता पार्टीका नेता नीतिन नविनसँग भेटवार्ता गरेका थिए। भेटका क्रममा पार्टी कार्यालयको संरचना तथा संगठनात्मक गतिविधिबारे जानकारी आदानप्रदान गरिएको जनाइएको छ।
भेटवार्तामा दुई देशका लोकतान्त्रिक अभ्यास, दलगत अनुभव, राजनीतिक सहकार्य तथा आपसी सम्बन्ध सुदृढीकरणका विषयमा छलफल भएको राष्ट्रिय स्वतन्त्र पार्टीले जनाएको छ।
लामिछाने सोमबार भारत प्रस्थान गरेका हुन्। भ्रमणका क्रममा उनले नेपाली समुदायसँग समेत भेटघाट गर्ने कार्यक्रम रहेको छ। साथै, अयोध्या भ्रमण गर्ने कार्यक्रम समेत तय गरिएको बताइएको छ।





