१९ जेठ, काठमाडौं । रिक्त रहेको अतिरिक्त स्वास्थ्य सचिव (१२औँ तह) पदका लागि डा. सुधा देवकोटा र डा. विनोदविन्दु शर्मा सिफारिस भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत सोमबार बसेको बढुवा समितिको बैठकले दुई जनाको नाम छनोट गरी सिफारिस गरेको मन्त्रालय स्रोतले जनाएको छ। सिफारिस भएका मध्ये एक जनालाई मन्त्रिपरिषद्ले अन्तिम निर्णय गर्दै अतिरिक्त स्वास्थ्य सचिवमा बढुवा गर्नेछ।
डा. देवकोटा हाल डडेलधुरा अस्पतालकी प्रमुख मेडिकल सुपरिन्टेन्डेन्टको जिम्मेवारीमा कार्यरत छिन्। त्यस्तै, डा. शर्मा गण्डकी प्रदेशस्थित प्रादेशिक स्वास्थ्य तालिम केन्द्रका निर्देशक हुन्। उनले यसअघि गण्डकी प्रदेशको स्वास्थ्य सचिवको जिम्मेवारी समेत सम्हालेका थिए।
उक्त पद गत भदौदेखि रिक्त रहेको हो। तत्कालीन अतिरिक्त स्वास्थ्य सचिव टंक बाराकोटीले राजीनामा दिएपछि पद खाली भएको थियो।
बढुवाका लागि १३ जना अधिकारी प्रतिस्पर्धामा रहे पनि मूल्यांकनका आधारमा शीर्ष स्थानमा रहेका दुई जनाको नाम मात्र सिफारिस गरिएको हो।
अब मन्त्रिपरिषद्को निर्णयपछि यी दुईमध्ये एक जना अतिरिक्त स्वास्थ्य सचिवमा नियुक्त हुनेछन्।





