समाचार

सीमा विवादमा संसद अवरुद्ध, राष्ट्रिय सभा दोस्रो दिन पनि स्थगित

१९ जेठ, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभामा दिएको सीमा सम्बन्धी अभिव्यक्तिको विरोधका कारण राष्ट्रिय सभाको बैठक लगातार दोस्रो दिन पनि अवरुद्ध भएको छ। विपक्षी दलहरूले प्रधानमन्त्रीले उक्त अभिव्यक्ति फिर्ता लिनुपर्ने माग गर्दै बैठकमा अवरोध गरेका हुन्।

विपक्षीको विरोधपछि बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगित गरिएको सभाध्यक्ष नारायणप्रसाद दाहालले जानकारी दिएका छन्। बैठक भोलि दिउँसो सवा १२ बजेसम्मका लागि सारिएको छ।

यसअघि प्रधानमन्त्रीले नेपाल–भारत सीमा सम्बन्धी टिप्पणी गर्दै दुवै देशले एक–अर्काको भूमि प्रयोग गरेको अभिव्यक्ति दिएपछि त्यसप्रति विपक्षी दलहरूले आपत्ति जनाएका थिए। उनीहरूले उक्त भनाइलाई गैरजिम्मेवार भन्दै माफी वा फिर्ताको माग गरिरहेका छन्।

लगातारको अवरोधका कारण विधेयक प्रमाणीकरण, बजेट छलफल तथा अन्य कार्यसूचीसमेत अघि बढ्न सकेको छैन।