समाचार

प्रधानमन्त्रीको सीमा अभिव्यक्तिप्रति रास्वपाको प्रतिक्रिया: नेपाली भूमि जोगाउन कूटनीतिक पहल आवश्यक

१९ जेठ, काठमाडौं । भारतसँगको सीमा सम्बन्धी विषयमा प्रधानमन्त्री बालेन शाहले दिएको अभिव्यक्तिपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छ। पार्टीले नेपालको कुनै पनि भूभाग अतिक्रमण हुन नदिने र मिचिएका भूमि फिर्ता ल्याउन कूटनीतिक पहललाई प्राथमिकता दिनुपर्ने बताएको छ।

मंगलबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै रास्वपाका महामन्त्री तथा सांसद कविन्द्र बुर्लाकोटीले सीमा सम्बन्धी विषयमा पार्टीभित्र निरन्तर छलफल भइरहेको जानकारी दिए। उनले व्यक्तिगत धारणा भन्दा पनि पार्टीको संस्थागत दृष्टिकोण स्पष्ट रहेको उल्लेख गर्दै नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डतामाथि कुनै सम्झौता हुन नसक्ने बताए।

बुर्लाकोटीका अनुसार रास्वपाको मुख्य जोड कूटनीतिक माध्यमबाट सीमा समस्या समाधान गर्दै मिचिएका नेपाली भूभाग फिर्ता ल्याउने विषयमा छ। उनले यसबारे सरकार, राजनीतिक दलहरू तथा सम्बन्धित पक्षबीच थप संवाद र छलफल आवश्यक रहेको बताए।

संसद् सञ्चालनका विषयमा बोल्दै उनले बजेटमाथिको छलफल र पारित प्रक्रिया प्रभावित हुने भएकाले विपक्षी दलहरूले संसद् बैठक अवरुद्ध नगर्नुपर्ने धारणा पनि व्यक्त गरे। संसद्लाई सुचारु राखेर राष्ट्रिय महत्वका विषयमा सहमतिका साथ अघि बढ्नुपर्ने उनको भनाइ थियो।

रास्वपाले सीमा सम्बन्धी विषयलाई संवेदनशील राष्ट्रिय मुद्दाका रूपमा लिँदै यसबारे जिम्मेवार र तथ्यमा आधारित छलफल हुनुपर्नेमा जोड दिएको छ।